मोरङमा श्रीमानमाथि श्रीमतीले गरिन् खुर्पा प्रहार

न्युजलय ११ फाल्गुण २०८२, सोमबार ११:०८ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा श्रीमानमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरीका अनुसार ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति घरमै सुतिरहेको अवस्थामा आक्रमण भएको थियो।

उनको मुख, टाउको, हात र बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटनापछि घाइते अधिकारीलाई तत्काल सुकुना सामुदायिक अस्पताल, विराटचोक लगिएको र त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा श्रीमती रन्जना कार्कीको संलग्नता देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा रन्जनाले आफूले खुर्पाले प्रहार गरेको स्वीकार गरे पनि घटनास्थलको अवस्था हेर्दा उनी एक्लैले आक्रमण गरेको जस्तो नदेखिएको प्रहरीको भनाइ छ।

घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान तीव्र पारेको जनाएको छ।