हतुवागढीमा स्नातक तह अध्ययनको लागि क्याम्पस खोल्ने तयारी

न्युजलय ८ भदौ २०८३, सोमबार ०५:१४ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकामा स्नातक तह अध्ययनको लागि क्याम्पस सञ्चालन हुने भएको छ । 

गाउँपालिकाको प्रशासनिक केन्द्र घोडेटार स्थित सगरमाथा माध्यमिक विद्यालय परिसरमा क्याम्पस सञ्चालनको लागि भौतिक संरचना व्यवस्थापन र सम्पर्क कार्यलय स्थापना गरिएको हो । 

आइतबार प्रस्तावित सगरमाथा बहुमुखी क्याम्पस सञ्चालनार्थ बृहत् भेला तथा छलफल समेत सम्पन्न भएको छ । भुपु माननीय धनहर्क राईको प्रमुख आतिथ्यतामा आयोजित भेलामा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त भेलामा प्रस्तावित क्याम्पसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी, व्यवस्थापकीय पक्ष तथा शैक्षिक विकासका विषयमा छलफल साथै अवधारणा पत्र प्रस्तुत गरिएको हो । 

भेलामा शिक्षासेवी इश्वरमान राईको संयोजकत्वमा ५१ सदस्यीय क्याम्पस तदर्थ समिती पुनर्गठन र उपसमिति गठन गर्ने प्रस्ताव पारित गरिएको छ । स्थानीय सरोकारवालाहरुले क्याम्पसमा प्राविधिकधार तर्फको पढाइ सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सुझाव दिएका थिए । क्याम्पस सञ्चालनार्थ राजनैतिक दलका प्रतिनिधिहरुले साथ सहयोगको प्रतिवद्वता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले हतुवागढीलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न क्याम्पस स्थापना अपरिहार्य रहेको बताउनुभयो । साथै क्याम्पस स्थापना र सञ्चालनको लागि गाउँपालिकाबाट पूर्ण रुपमा सहयोग रहने र आगामी नेतृत्वले पनि त्यसको निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।  

हाल हतुवागढी गाउँपालिका अन्तर्गत जनसेवा मावि हसनपुर, जनज्योती मावि पात्लेपानी र प्रजातन्त्र मावि होम्ताङमा समेत कक्षा १२ को पढाइ सञ्चालन भएका छन् । उक्त विद्यालयहरुमा अध्यापन भइरहेको विषयको आधारमा प्रस्तावित क्याम्पसमा शिक्षा शास्त्र र मानविकी संकाय अध्यापनको तयारी गरिएको छ । 

त्रिभुवन विश्व विद्यालयबाट यसको सम्बन्धन लिइने जनाइको छ । त्यसको प्रक्रिया भैरहेको समितिका अध्यक्ष इश्वरमान राईले बताउनुभयो । 

सगरमाथा माध्यमिक विद्यालयमा +२ सञ्चालन भएको २८ वर्ष बिति सक्दापनी यस क्षेत्रमा स्नातक तह अध्ययनको लागि क्याम्पस खुल्न सकेन । यसबीचमा विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि जिल्ला सदरमुकाम भोजपुर लगायत तराईका जिल्लाहरुमा पढ्न जानुपर्ने बाध्यता छ । यो क्याम्पस सञ्चालनमा आएपछी हतुवागढी गाउँपालिका भित्रको मात्र नभइ छिमेकी पालिका आमचोक र रामप्रसाद राई गाउँपालिका साथै अन्य क्षेत्रबाट पनि विद्यार्थी आउने अपेक्षा लिइएको छ ।