सीमा विवादलाई वार्तामार्फत समाधान गर्न इटहरीका मेयरको आग्रह

न्युजलय ११ बैशाख २०८०, सोमबार ०८:५७ मा प्रकाशित

इटहरी । इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा विवादलाई वार्तामार्फत समाधान गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि इटहरीका मेयरले यस्तो आग्रह गरेका हुन् ।

२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् । सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न तयार रहेको बताए ।

मेयर कक्षमा सोमबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफू धरानको विकास, समृद्धि सँगै धराने जनताप्रति सम्मान भाव रहेको प्रष्ट पारे ।  

विज्ञप्ति मार्फत उनले भनेका छन् , "दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ। त्यसैगरी दुवै उपमहानगरपालिका बिच द्वन्द्व सिर्जना नभई स्थायी समाधान हुने परिस्थिति बन्नेछ भन्ने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूमा आग्रह र अनुरोध गर्न चाहन्छु ।"

सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकाय सँगको सहकार्यमा वार्ता मार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यो राजनैतिक विषय भएकाले यसलाई सङ्घीय सरकारका निकाय बाट हल खोज्नुपर्ने धारणा राखे ।