इटहरीको बजेट : सोचेभन्दा ३० प्रतिशत कम आम्दानी, फेरी पनि ३० प्रतिशत बढेर आयो बजेट

हिमाल दाहाल ११ असार २०८१, मङ्गलबार ०६:४१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले यो पटक पनि महत्वकांक्षी बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५७ करोडको बजेट ल्याएको छ । जबकी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सबै स्रोतबाट गरेर जम्मा १ अर्ब ९१ करोड रुपैया मात्र प्राप्त गरेकोछ ।


चालु आर्थिक वर्षको लागि गत वर्षको असारमा पालिकाले २ अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उक्त बजेट त्यतीबेलाकै लागि महत्वकांक्षी मानिएको थियो । बिचमा नगरसभाले त्यसमा संशोधन गर्दै बजेटको आकार झन् बढाएर २ अर्ब ७४ करोड पुर्यायो । तर चालु आर्थिक वर्षको असार मसान्तसम्मको संशोधित आय १ अर्ब ९१ करोड अनुमान गरिएको छ । जुन उपमहानगरपालिकाले अनुमान गरेको बजेटको तुलनामा ३० प्रतिशत कम हो ।


चालु आर्थिक वर्षमा बजेटको लक्ष्य प्राप्त नगर्ने नगर इटहरी मात्र होइन । धेरैजसो स्थानीय तह र प्रदेश सरकारलेसमेत यही समस्या व्यहोरेकोछ । जसको कारण धेरै पालिकाहरुले यो वर्ष बजेट घटाएर ल्याएका छन् । इटहरीमा पनि बजेट घटाएर ल्याउने वा बढाएपनि थोरै बढाउने चर्चासमेत चलेको थियो । 


उपमहानगरपालिकाका लागि प्रवक्ता दिवस पोख्रेलले सोमबार नगरसभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदानमा कटौती र लक्ष्य अनुसारको आन्तरिक स्रोत र मालपोत रजिष्ट्रेसन शुल्क संकलन हुन नसकेको उल्लेख गरेका थिए । 


‘संचित कोषमा रकम अभावका कारण सम्पन्न भएको आयोजना र योजनाको भुक्तानी गर्न कठिनायी भएको छ । यसको दायित्व आगामी आर्थिक वर्षको बजेटमा व्ययभार पर्ने भएकोले आगामी आर्थिक वर्षमा उल्लेखनिय आयोजना योजनाहरु छनौट गर्न समेत बजेट अभाव भएको,’ बजेट वक्तव्यमा भनिएको छ । 

यसो हुँदा हुँदै पनि उपमहानगरपालिकाले गत वर्षभन्दा ३० प्रतिशतले बढी बजेट ल्याएको हो ।


कुन कुन स्रोतमा बढ्यो अपेक्षा ?

इटहरी सरकारले आगामी आर्थिक वर्षमा केही क्षेत्रबाट चालु आर्थिक वर्षको भन्दा बढी बजेट प्राप्त गर्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा संघीय समपुरक अनुदान १ करोड पाएको उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ५ करोड पाउने अनुमान गरेको छ । यस्तै संघीय ससर्त अनुदान पुँजीगततर्फ २६ करोड रुपैया पाएको उपमहानगपालिकाले आगामी आर्थिक वर्षमा ८१ करोड ९३ लाख पाउने अनुमान गरेको छ । 


यस्तै आन्तरिक स्रोतबाट ३४ करोड ५० लाख आम्दानी गरेकोमा ९६ करोड रुपैया उठाउने लक्ष्य लिएको छ । प्रदेश राजस्व बाँडफाँड (घरजग्गा रजिष्ट्रेशन मालपोत)बाट २२ करोड २५ लाख पाएको नगरले आगामी आर्थिैक वर्षमा ५६ करोड उठाउने लक्ष्य लिएको छ । यसैगरी नगर विकास कोषबाट ५ करोड आन्तरिक ऋण लिने उल्लेख गरेकोछ । यस्तै संघीय समानिकरण अनुदान तर्फ थप १ करोड ८० लाख, विशेष अनुदानतर्फ १ करोड २५ लाख थप पाउने अनुमान गरेको छ ।


यस्तै केही शीर्षकमा भने कम आयको अपेक्षा गरेकोछ । प्रदेश ससर्त अनुदान चालु खर्च, प्रदेश वित्तिय समानिकरण अनुदान, नगद मौज्दान परिवर्तन, सवारी करबाट प्रदेश राजस्व बाँडफाँड शीर्षकहरुमा बजेट घटाएको छ । 


चालु र पुँजीगत दुवै खर्च बढ्यो 

उपमहानगरपालिकाका अनुसार आगामी आर्थिक वर्ष खर्चतर्फ चालु खर्च १ अर्ब ४१ करोड खर्च हुनेछ । यो कुल बजेटको ३९.५ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा चालु खर्च १ अर्ब १५ करोड अनुमान गरिएको थियो । 


यस्तै पुँजिगततर्फ २ अर्ब १५ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ६०.२५ प्रतिशत हो । चालु आर्थिक वर्षमा यो ५० प्रतिशत थियो । यसअन्तर्गत विषयगततर्फ ३० करोड, वडा सिमातर्फ ३८ करोड, नगरस्तरिय योजनाको लागि ८ करोड रुपैया विनियोजन गरिएको छ । 


यस्तै वित्तिय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख विनियोजन गरिएको छ ।


के के छन् योजना ?

उपमहानगरपालिकाले कुनै खास क्षेत्रमा महत्वकांक्षी योजना भने बनाएको छैन । पुरानै योजनाहरुलाई निरन्तरता दिएको छ भने केही नयाँ कार्यक्रमहरु पनि ल्याएको छ ।


बाहिरी चक्रपथको लागि सम्भाव्यता अध्ययनलाई निरन्तरता दिने, इटहरीको गुरु योजना बनाउने, इटहरीको डुबान नियन्त्रण तथा सडक पूर्वाधारको डीपीआर बनाउने, २ वटा आकाशे पुल बनाउने लगायतका योजना बनाएको छ । 


यस्तै टेङ्ग्रा खोला, खेति खोला, सुकुमारी खोलालगायतका खोला पैनीको क्षेत्राधिकार कायम गर्ने, नगर बस सञ्चालनमा ल्याउने, टेङ्ग्रा खोलाको कोरिडोर निर्माण गर्ने परियोजना संचालन गर्दा पूर्ण रुपमा विस्थापित हुने घर परिवारलाई पुनः स्थापना गर्ने योजना बनाएको छ । यस्तै इटहरी बजार क्षेत्रमा ट्याङ्ग्रा खोलाको डुबान कटान नियन्त्रण गर्नको लागि खोलालाई बुढी खोलामा स्थानान्तरण (डाइभर्सन) कार्य अगाडी बढाइनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।


यस वर्ष विवादित बनेको विद्यालयमा पोशाकमा एकरुपता कायम गर्ने कुरासमेत नीति तथा कार्यक्रममा समेटिएको छ । टोलविकास संस्था, नगर बाल सञ्जालहरुलाई प्रभावकारी परिचालन गर्ने उल्लेख छ । 


इटहरी उप महानगरपालिकाको नगर लोगो तथा नारा तयार गर्ने योजना उल्लेख गरिएको छ । यस्तै विद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी विद्यालयलाई विद्यालय नक्साङ्कनका आधारमा ठूला विद्यालय स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा सुधारका लागि विभिन्न योजनाहरु ल्याइएका छन् । 


यस्तै इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालालाई आफ्नो स्वामित्वमा लिन पहल गर्ने योजना छ । प्रत्येक विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्योपचारका लागि सबै सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम विस्तार गरिने उल्लेख छ ।


प्लाष्टिक झोलामुक्त बनाउने अभियानलाई अघि बढाउनेसमेत घोषणा गरिएको छ । इटहरी यसअघि नै प्लास्टिक झोलामुक्त घोषित भइसकेको छ । तर पछिल्लो समयमा नियमनको अभावका कारण प्लाष्टिक झोलाको प्रयोग बढ्दो छ । यसैगरी विद्युतिय सवारी साधन सञ्चालन गर्ने समेत घोषणा गरिएको छ ।