इटहरी । पहिचानवादी संगठनहरुले कोशी प्रदेशको पक्षमा भोटिङ गर्ने ८२ जना सांसदहरुलाई कोठाभाडामा नदिन घरबेटीसँग अनुरोध गर्ने भएका छन् । कोशी नामाकरणको विरोधस्वरुप उनीहरुले घरबेटीहरुलाई भेटेर यस्तो आग्रह गर्ने भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जानकारी दिएको छ ।
वैशाख ११ गतेदेखि विराटनगरमा निर्णायक आन्दोलन गर्ने भनिएपनि प्रदेश सभाको बैठक केन्द्रित गर्ने गरी २१ गतेपछि आन्दोलन थाल्ने समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निर्णायक आन्दोलनको तयारीका लागि भन्दै समितिले वैशाख २१ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सो क्रममा ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, उनीहरुकोविरुद्ध सभा गर्ने र भेटेर हस्ताक्षर फिर्ता लिन आग्रह गर्नेसम्मका कार्यक्रम तय गरेको छ ।
समितिले सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा कोशी नाम विरुद्धको कार्यक्रमहरू निरन्तर गर्ने र गाउँ गाउँ गएर निर्णायक आन्दोलनको लागि तयारी गर्ने जनाएको छ ।
समितिले नियमविपरीत दलीय निर्देशन अनुसार, खुल्ला मतदान गराएर अलोकतान्त्रिक र तानाशाही शैलीमा कोशी नाम लादिएको समेत जनाएको छ । ‘नेपालको सीमानादेखि दक्षिणतिर भिमनहर व्यारेजदेखि सुकैलाघाटसम्म मात्र चिनिने शासक जातीय एवम् गोत्रीय एकल पहिचानको कोशी नाम कुनै हालतमा स्वीकार्य हुँदैन,’ समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश नम्बर १ को सभाले गत फागुन १७ गते कोशी नामकरण गरेपछि पहिचानवादी संगठनहरु निरन्तर आन्दोलनमा छन् । आन्दोलनकै क्रममा ४२ वर्षीय पदमकुमार लिम्बू लाजेहाङको मृत्यु भएको थियो भने नेपाल सरकारले उनलाई शहीद घोषणा गरिसकेको छ ।