बिर्तामोडमा बढेको कर फिर्ता, पुरानै लागु गरिने

न्युजलय ३२ साउन २०८०, बिहिबार ०५:०७ मा प्रकाशित

बिर्तामोड । नगरवासीको विरोधपछि झापाको बिर्तामोड नगरपालिकाले कर वृद्धि फिर्ता लिएको छ । बिहीबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षका लागि वृद्धि गरेको सम्पत्ति कर फिर्ता गरी पुरानै लागु गर्ने निर्णय गरेको हो ।


नगरपालिकाले गत असार १३ गतेको नगर अधिवेशनमा सम्पत्ति करमा हेरफेर तथा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको नगरवासीले विरोध गरेका थिए । 


नगरपालिकाले भने जग्गाको वर्गीकरणपछि कर लागु गर्न खोजेको, तर राजनीतिकरण भएपछि कर वृद्धि फिर्ता लिएको बताए ।


बिर्तामोड नगरपालिकामा चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट साढे ४ करोड अनुदान घटेर प्राप्त हुने नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले जानकारी दिइन् । उनले जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्न थप स्रोतको पहिचान गर्नुपर्ने भएकाले सम्पत्ति करमा हेरफेर गरेको उनको भनाइ छ ।