अब कोशी अस्पतालमै मृर्गौला प्रत्यारोपण

न्युजलय २९ चैत २०७९, बुधबार ०७:२४ मा प्रकाशित

काठमाडौँ । नेपालको सातै प्रदेशबाट मृगौला प्रत्यारोपण सुविधा दिने सरकारको नीतिअनुसार विराटनगरको कोशी अस्पताललेसमेत प्रत्यारोपण गर्ने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रबिना राज सिंहले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमति भएको छ ।

प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तायार हुँदै गरेको र जनशक्ति विकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा तालिममा पठाउने सहमति भएको छ । कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम नहुँदा सम्म केन्द्रले सहयोग गर्नेछ ।

केन्द्रको पहलमा यस अघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भैसकेको छ ।