सामाजिक सञ्जालबाट गायब भए र्यापर भिटेन

न्युजलय २ कार्तिक २०७९, बुधबार ०१:२३ मा प्रकाशित

काठमाडौं । नेपाली र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो युट्युब च्यानलबाट सबै भिडियो हटाएका छन् । पछिल्लो समय विभिन्न आलोचना खेपिरहेका भिटेन मंगलबारदेखि सामाजिक सञ्जालबाट गायब भएका हुन् । 

उनको आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’ मा बिहान एउटा भिडियो मात्र छ । अन्य भिडियो हटाइएका हुन् वा हाइड गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । गत साता जापानमा उनले कन्सर्टमा गरेको हर्कतले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

उक्त कन्सर्टमा बियरको बोतलले आफ्नो टाउकोमा हान्दै अब कहिल्यै कन्सर्ट नगर्ने बताएका थिए । असोज २४ गते जापानमा भएको उक्त कन्सर्टको हर्कतपछि उनलाई मानसिक रोगी भएको भन्दै आलोचना गरिएको थियो । सोही आलोचनाका कारण उनी सामाजिक सञ्जालबाट गायब भएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै उनले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । इन्स्टाग्राम प्रोफाइलमा पनि दुई ओटा फोटोमात्र रहेका छन् । अन्य फोटो भने हाइड गरिएको आशंका छ ।