सुन्दरहरैंचामा तालको बिचमा कार्यक्रम, वरपर दर्शक स्रोता (फोटोफिचर)

न्युजलय १५ भदौ २०८२, आइतबार ०५:१३ मा प्रकाशित

विराटचोक । मोरंगको सुन्दरहरैचा–४, दुलारीमा “गोदावरी रिभरसाइड रिसोर्ट” सञ्चालनमा आएको छ ।

दुलारी चोकबाट २.८ किलोमिटर दक्षिण र इटहरीबाट ६ किलोमिटरको दुरीमा रहेको यो रिसोर्टले आधुनिक सुविधा र प्राकृतिक सौन्दर्यलाई जोड्दै सेवा दिइरहेको रिसोर्टका अध्यक्ष रमेश खड्काले जानकारी दिए । 

पहिले त्रिवेणी रिसोर्टका नामले सञ्चालनमा रहेको रिसोर्टको नाम र व्यवस्थापनसमेत फेरीएको उनले जानकारी दिए । उनले छोटो समयमै रिसोर्टले आगन्तुकहरु तानिरहेको जानकारी दिँदै यहाँको शान्त र सुन्दर वातावरण आकर्षणका रुपमा रहेको उनले बताए । 

‘ठूलो पोखरी, वरपर पर्याप्त छहारीसहितको बस्ने ठाउँहरुले मानिसलाई छुट्टै आनन्द दिन्छ,’ उनले भने, ‘एकान्त खोज्ने, शान्त ठाउँमा छलफल, बैठक गर्ने, कार्यक्रम गर्नेको लागि यो ठाउँ उपयोगी छ ।’

रिसोर्टमा दुई सय जनाभन्दा बढी अटिने एसीसहितको ठूलो हलसमेत छ । त्यहाँ विवाह पार्टी, सभा सम्मेलन आदि गर्न सकिन्छ । त्यसबाहेक साना साना अरु पनि हलहरु छन् । यस्तै खुला स्थानमा पनि कार्यक्रम गर्न सकिन्छ । ‘पोखरीको बिच भागमा कार्यक्रम गर्ने र वरीपरी बसेर दर्शकले हेर्ने खालको राम्रो इन्भारोमेन्ट छ,’ नेपाल भन्छन्, ‘यस्तो अनुभव हामी सबैको लागि नौलो हुन्छ, हामी दशैंको पेरीफेरीमा त्यो खालको कार्यक्रम गर्छौं ।’

रिसोर्टमा रहेको ठूलो तालमा बोटिङको मज्जा लिन सकिन्छ । ठूलो छाल उत्पन्न हुने तालमा बोटिङले अलग अनुभुति दिन्छ । यस्तै तालको बिचमा पनि बस्ने र समय बिताउने ठाउँ बनाइएको छ । त्यहाँ पुगेर विशेष सेवा लिन सकिन्छ । यस्तै डोम तथा ‘नमस्ते’ आकारका इग्लु घरहरु रहेका छन् । जहाँ डिलक्स तथा प्रिमियम तहको बसाइ अनुभुती गर्न पाइने रिसोर्टका सञ्चालक खेम नेपालले जानकारी दिए । 

यस्तै गरी इण्डोनेसियाको बालीमा रहेको जस्तो अग्लो पिङसमेत यहाँ रहेको छ । जहाँ जोडी नै बसेर स्वीङको मज्जा लिन सक्छन् । यस्तै यहाँ कोलम्बस स्विङ लगायत बालबालिकाहरुको लागि खेल सामाग्रीसमेत छन् । 

यहाँ बसेर धरान, भेडेटार, धनकुटा, इलाम, कन्याम र टिनजुरे जस्ता पर्यटकीय क्षेत्रमा छोटो समयमै पुग्न सकिने उनी बताउँछन् । यस्तै भारतबाट आउने आगन्तुकहरुका लागि पनि यो ठाउँ एकान्तमा रमणिय स्थानमा रहेकोले आगन्तुकहरुले विशेष अनुभुती गर्ने उनले बताए ।

रिसोर्टलाई पूर्वी नेपालको उत्कृष्ट पर्यावरणमैत्री रिभरसाइड रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको अर्का सञ्चालक रोहित शाहले जानकारी दिए ।

यस्तै रिसोर्टले दशैं, तिहारको अवसरमा विभिन्न छुट योजना ल्याएको छ । भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्मका लागि विशेष छुट योजना ल्याएको हो । १० जना वा सोभन्दा बढीको समूहले प्रवेश शुल्कमा २५% छुट पाइनेछ भने बोटिङ, खानाको मेनु र आवासमा समेत छुटको व्यवस्था गरिएको छ ।

यस्तै बिहानको समयमा मर्निङ वाक गर्नेहरुलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको छ । ‘पोखरीको वरीपरीको प्राकृतिक वातावरणमा मर्निङ वाक गर्न छुट्टै मजा हुन्छ, वहाँहरुको लागि निःशुल्क प्रवेश कार्ड बनाइदिन्छौं,’ उनले भने ।

स्थानीयस्तरमा प्रतिष्ठित र अनुभवी टिमले व्यवस्थापनको जिम्मा लिएपछि वरपरका स्थानीयहरु पनि उत्साहित छन् ।