इटहरी । चुनावका मुखमा नेकपा एमाले सुनसरीले जिल्ला कमिटी सदस्य तथा इटहरी वडा नं. १७ को निर्वाचित वडाअध्यक्ष प्रभात आचार्यलाई पार्टी सदस्यबाटै निकालेको छ ।
पार्टीको आधिकारिक निर्णयहरु विरुद्ध लागेको, पटक पटक सचेत गराउँदा पनि अटेर गरेको र दुइ पटकसम्म स्पष्टिकरण सोध्दासमेत कुनै जवाफ नदिएको भन्दै जिल्ला कमिटी सदस्य साथै पार्टी सदस्यतासमेत नरहने कारवाही गरेको हो ।
आचार्यमाथि अलग पार्टीबाट उम्मेदवार भएका आफ्ना छोराको लागि भोट माग्दै हिडेको आरोपसमेत लागेको छ । उनका छोरा आदित्य सुनसरी क्षेत्र नं. २ मा राष्ट्र निर्माण दलबाट प्रतिनिधि सभा उम्मेदवार छन् भने उनकी श्रीमती सोही दलको समानुपातिक उम्मेदवार रहेको बताइएको छ ।
आचार्यले आफ्ना छोराको अन्तर्वार्ता प्रकाशनमा ढिलाइ गरेको भन्दै गत बिहीबार इटहरीका पत्रकारलाई सामाजिक सञ्जालमार्फत् लान्छानासमेत लगाएका थिए । पछि विरोध भएपछि उनले माफीसमेत मागेका थिए ।