इटहरी । इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीया महिलाको हत्या भएको छ।।
उपचारका लागि भोजपुरबाट इटहरीस्थित छोरी–ज्वाइँको घर आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो ।
हत्या आरोपमा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
सवारी चालक ज्वाइँलाई मदिरा सेवन नगर्न भनेर सासूले सम्झाउन खोज्दा हत्या गरेको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपचारका लागि इटहरी आएकी बयलकोटी सोमबार घर फर्कने तयारीमा थिइन् । उनी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् । उनी पुग्दा ज्वाइँ मदिराले मातेका थिए ।
त्यसपछि पबीमायाले ज्वाइँलाई रक्सी नखान भन्दै सम्झाएकी थिइन् । सुरुमा सासूले सम्झाउँदा सुनिरहेका उनले पछि ट्युबेलको ह्याण्डलले टाउकोमा प्रहार गरेका थिए । सासूमाथि आक्रमण गरी भाग्दै गर्दा इटहरीबाटै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।