विराटनगर । मोरङका अलगअलग स्थानमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ। विराटनगर र बेलबारीमा बिहीबार(आज) बिहान आगलागी भएको हो।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्ग बस्ने सुरेशकुमार साहको जेनेरेटर राखिएको घरमा आगलागी भएको छ।
जेनेरेटर राख्नका लागि इँटा र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा बिहान ५ बजेतिर आगलागी भएको उनले बताए। आगलागीमा घरसहित जेनेरेटर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार आगलागीमा ८ लाख बराबरको क्षति भएको छ। आगो नेपाल प्रहरी, स्थानीय र दमकलको सहायतामा लगभग १ घण्टापछि नियन्त्रणमा लिइएको थियो।
यस्तै बेलबारी नगरपालिका–१ भानुमार्ग बस्ने सावित्रीदेवी श्रेष्ठको भान्सा घरमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ। प्रहरीका अनुसार कर्कटपातको छानो र बेरा लगाएर बनाइएको घरमा बिहानका राति १ बजेतिर आगलागी भएको हो।
चुल्होबाट अचानक आगो सल्किँदा भान्सा घर, कोठामा रहेका अन्नपात, काठपात, भान्साका सामग्री जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।