१० दिनपछि भेटियो सप्तकोशी पुलमा कार छाडेर बेपत्ता डाक्टर कोइरालाको शव

न्युजलय २० भदौ २०८०, बुधबार १०:३१ मा प्रकाशित

 मोरङ। मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।

झापाको दमक–१ मा घर भई गत साउन २९ गते देखि  मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार बेपत्ता भएका थिए ।

सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका –२ को कोशीको अङ्गालोमा मङ्गलबार दिउँसो फेला परेको हो ।

कोशीमा माछा मार्नेहरूले अङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेको थियो ।

मृतकका बुवा दिवाकर कोइरालासहित दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले एकजना प्रेमिका सँग संवाद गरेका थिए । दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबुआमाका एक मात्र छोरा हुन् ।