काठमाडौं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत बिहीबारको खेलमा घरेलु टोली ओमानलाई पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको छ ।
८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा मात्र ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।
५३ बलको सामना गरेका कुशलले तीन चौका र दुई छक्का प्रहार गरे । योसँगै कुशल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
यो कुशलको पाँचौँ अर्धशतक हो । यसअघि उनले एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।
कुशलले पूर्वकप्तान पारस खड्काको नाममा रहेको एक शतक र चार अर्धशतककको कीर्तिमान पनि तोडेका हुन् ।
आरिफ शेख २१ रनमा अविजित रहँदा आसिफ शेखले १३ रनको योगदान दिए । ओमानका लागि एक मात्र विकेट कप्तान जिसन मक्सुदले हात पारे ।
यसअघि अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।
ओमानका लागि जिसन मक्सुदले २१, आयन खानले १६ र नसिम खुसीले १५ रनको योगदान दिँदा कलिमउल्लाह १४ रनमा अविजित रहे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन तथा कमलसिंह ऐरी, अविनाश बोहरा, सागर ढकाल र आरिफ शेखले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।