स्ववियु जनता क्याम्पसद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

न्युजलय ३२ बैशाख २०८०, सोमबार ११:०४ मा प्रकाशित

इटहरी । स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

इटहरी–५, काव्यवाटिका स्थित पाथिभरा फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता जनता क्याम्पस सञ्चालक समिति उपाध्यक्ष देवु निरौलाको प्रमुख आतिथ्यतामा पोष्टमा बल प्रहार गरेर उद्घाटन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन खेल भने जनता बहुमुखी क्याम्पसका प्राध्यापक र आयोजक स्ववियु बीच मैत्रीपूर्ण खेल प्रदर्शन भएको थियो ।

खेलकुद स्वास्थ्यको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै स्ववियु अध्यक्ष सहदेव काफ्लेले विद्यार्थीहरुलाई खेलकुदमा अग्रसर गराउन फुटसल खेलको आयोजना गरिएको बताएका छन् ।

उक्त प्रतियोगितामा जनता क्याम्पसमा कक्षा ११, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत प्रत्येक सेक्सनबाट २३ समुहमा विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । स्नातक तह व्यवस्थापन संकाय प्रथम वर्ष सेक्सन ‘सि’ र स्नातक तह व्यवस्थापन संकाय दास्रो वर्ष सेक्सन ‘बि’ बीच भएको फाइनल खेलमा स्नातक तह व्यवस्थापन संकाय प्रथम वर्ष सेक्सन ‘सि’ ले उपाधि जित्न सफल भएको हो ।

उक्त नकआउट फुटसल प्रतियोगितामा प्रथम भए सँगै स्नातक तह व्यवस्थापन संकाय प्रथम वर्ष सेक्सन ‘सि’ समूहले १० हजार ५ सय नगद, मेडल सहित प्रमाणपत्र र दोस्रो हुने व्यवस्थापन संकाय दास्रो वर्ष सेक्सन ‘बि’ समूहले ७ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी अमृत राई, उत्कृष्ट गोलरक्षक विकास साह र सर्वाधिक गोलकर्ता बेरी ठकुरी घोषित भएका हुन् । उनीहरुलाई मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।

स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनता क्याम्पस सञ्चालक समिति सदस्य साथै अतिरिक्त क्रियाकलाप संयोजक प्रमोद भट्टराई, सञ्चालक समिति सदस्य साथै प्लस टु संयोजक आकाशहाङ लिम्बु, सञ्चालक समिति सदस्य रेवती घिमिरे, जनता क्याम्पस सहायक प्रमुख युवराज सिटौला लगायतको उपस्थिति रहेको थियो ।