काठमाडौँ । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।
सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन् ।
यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।