मेयर साम्पाङले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने

न्युजलय २५ जेठ २०८०, बिहिबार ०४:३१ मा प्रकाशित

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा भारतलाई काउन्टरस्वरूप ‘ग्रेटर नेपाल’को नक्सा राख्ने भएका छन् । 

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै साम्पाङले नक्सा राख्ने बताएका हुन् । साथै उनले अरुलाई पनि नक्सा राख्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘धरान उपमहानगरपालिकाको कार्यकक्षमा पनि ‘ग्रेटर नेपाल’ को नक्सा छिट्टै राखिने छ । तपाईंहरू पनि आफ्नो घर, कार्यालय, सामाजिक सञ्जालतिर यो नक्सा राख्नुहोस् ।’ 

‘ग्रेटर नेपाल’ नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलसम्मको भूमि समावेश गरिएको छ । 

भारतको हालै नवउद्घाटित संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । भारतको यस कदमको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।