इटहरीकी उपमेयर भन्छिन्, ‘स्थानीय तह चलाएँ, अब पार्टी चलाउने इच्छा छ’

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०८:१९ मा प्रकाशित

इटहरी । लक्ष्मी गौतम इटहरी उपमहानगरपालिकाको उपमेयर हुँदै गर्दा उनको लागि सबैभन्दा सजिलो थियो, उनले काम गरेको पृष्ठभूमी । 


सामाजिक संस्था र महिला समुहहरुमा उनको सक्रियताले समाज र समाजका धेरै विषयवस्तुको बारेमा जानकार बनाएको थियो । त्यसकै बलमा उनी उपमेयर भएपछि उनले उपमहानगरपालिकाको न्यायिक समितिदेखि संघसंस्थाहरुसँग समन्वय गर्ने र चलायमान गराउने काम गरिन् । 


मेयर द्वारिकलाल चौधरीले इटहरीका बहुवर्षिय सडक निर्माण, खोला मिचेका संरचनाहरु भत्काउने काम लगायतका दीर्घकालिन विकास योजनाहरुका लागि काम गरिरहँदा गौतमले भने उपमहानगरपालिकाको नीति नियम बनाउनेदेखि अन्य व्यवस्थापकीय कार्यहरु कुशलतापूर्वक सम्पन्न गरीरहेकी छिन् । उनै गौतम अहिले जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा महिला कोटाबाट केन्द्रिय सदस्यका लागि उम्मेदवार बनेकी छिन् । 


३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी गौतम अहिले एमालेको प्रदेश नं.१ सदस्य, अखिल नेपाल महिला केन्द्रीय सचिवालय सदस्यको रुपमा समेत सक्रिय छिन् । 


उनले केन्द्रीय सदस्य बनेर पार्टीको लागि र समग्र देशकै लागि योगदान दिने इच्छा व्यक्त गरेकी छिन् । ‘स्थानीय तहको लागि आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निभाएँ,’ उनी भन्छिन्, ‘अब पार्टी र देशको लागि योगदान दिने गरी जिम्मेवारी लिने इच्छा छ ।’


गौतम १ नम्बर प्रदेशकै महिला नेताहरुमा प्रखर बक्त्ता र स्थानीय निर्बाचनमा सबैभन्दा धेरै मतान्तरमा उपप्रमुख जित्ने लोकपृय महिला नेता हुन् ।