धानको व्याड राख्दा छुटाउनै नहुने कामहरु

बाबुराम कार्की १२ जेठ २०८०, शुक्रबार ०८:३८ मा प्रकाशित

सुनसरी । किसानहरुलाई यतिबेला धानको विउ राख्ने चटारो छ । किसानहरुले बिउ उपचार गरेर विउ नराख्दा परिश्रम मात्र खेर जाने गरेको छ । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार अझैपनि कतिपय किसानहरुले बिउ राख्ने तरिका नजाँन्दा र बिउ छिप्याएर रोप्दा उत्पादनमा कमि अउने गरेको छ । किसानले गरेअनुसारको मेहनतको उपलब्धी नहँुदा किसानहरु निरास बन्नुपर्ने अवस्था छ ।” 

बिउ राख्दा बिउको छनोट गरेर हावापानी र माटो सुहाउदो रोपेमात्र राम्रो उत्पादन लिन सकिन्छ । पछिल्लो समय धानका विभिन्न उन्नत जातहरु समेत आएका छन् तर, बिउ राख्ने तरिका भने एउटै छ । 

सूचना अधिकृत श्रेष्ठ भन्छन् “बिउको राम्रो उपचार गरेर राखिएको बिउले मात्र राम्रो फसल दिने हुँदा बिउ राख्दा नै विभिन्न कुरामा किसानले ख्याल गर्नै पर्छ । तराइमा जेठ पहिलो सातादेखि नै धानको बिउ राख्न सुरु गरिन्छ र बिउ राखेको १५ देखि २२ दिनको बिउ भएपछि रोप्नु पर्छ ।”

धानको असल बिउ छनौट र बिउ उपचार प्रबिधि

बिउ एक जीवित वनस्पति हो, जसलाई उचित तापक्रम, हावापानी, प्रकाश आदी उपलब्ध गराइएमा एक बिरुवाको रुपमा परिणत हुन्छ । खेती गरेर राम्रो उत्पादन लिनका लागि असल बिउ हुनुपर्ने बराहक्षेत्र नगरपालिकाका कृषि प्रविधिक निरबहादुर राई बताउँछन्  । 

विउको बंशाणुगत गुण, बिउको जातीय गुण नाश नभएको र विकृति नआएको बीउको भौतिक गुण ,राम्ररी केलाई सफा गरिएको, फुटेको, टुटेको र टुक्रा भएको बीउ नमिसिएको, स–साना ढुङ्गा, माटो, पात डाँठ आदी टुक्रा नमिसिएको, झारपात र अन्य बालीको बीउ नमिसिएको, हुनु पर्छ । 

बिउको स्वास्थसम्बन्धी गुण 

किसानले धानको विउ छनोट गर्दा रोग र किराले नोक्सान नपु¥याएको, बिषादीद्धारा उपचार गरिएको, बिउको शारिरीक गुण, उमार प्रतिशत राम्रो भएको, उचित मात्रामा सुकेको, पोटिलो र चम्किलो दाना भएको हुनुपर्छ । विउ लगाउँदा ठाउँअनुसार सिफारिस गरिएको जात लगाउनु पर्ने कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका वालीविज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउँछन् । 

बिषादीद्वारा विउ उपचार 

विउबाट सर्ने ढुसीजन्य रोग नियन्त्रणका लागि विउको उपचार गरिन्छ । ढुसी नाषक विषादी बेभिष्टीन धुलो वा  थिराम, क्याप्टम प्रति किलो दुई ग्राम सुख्खा विउमा  मिसाएर उपचार गर्न सकिने प्रविधिक निरबहादुर राई बताउछन् । विउ छर्नु भन्दा १ हप्ता पहिले बिउको उपचार गर्नु पर्दछ । 

नुन पानीको घोलमा शुद्ध विउ छनोट गर्नु पर्दछ । एक लिटर पानीमा १ सय ५० ग्राम नुन लगाएर राम्ररी घोलिएको घोलमा धानको विउ राख्दा पानीमा तैरिएका रोगी विउ, अपरिपक्व, टुक्रिएकाजस्ता विउहरु हटाउनुपर्छ र तुरुन्तै घोलबाट थिग्रिएका विउहरु निकाल्नुपर्दछ । यसरी निकालिएको विउलाई ३÷४ पटक चिसो पानीले धोएर सफा पानीमा २४ घण्टा ढड्याएर तै¥याउनु पर्छ । ढुसीजन्य रोग बढी लाग्ने क्षेत्रमा हिले ब्याड राख्नुपर्ने र ब्याक्टेरियाबाट बचाउन धुलो ब्याड राख्नुपर्ने प्राविधिक निरबहादुर राई बताउछन् । 

विउ अङ्कुरण

हिले ब्याडमा बेर्ना हुर्काउन बिउ अङ्कुरण गर्नु पर्दछ । अङ्कुर बिउबाट राम्रो बेर्ना उम्रिने गर्छ । बिउ सफा पानीमा २७ डिग्री सेन्टीग्रेड तापक्रममा २४ घन्टा भिजाउनुपर्छ । बिउ भिजि सकेपछि पानी तर्काएर एक ठाउंमा बीउ जम्मा गरि ४८ घन्टा गुम्स्याउनु पर्छ । यसरी वीउ अङ्कुर आउने गर्छ ।  

व्याडको बिवरण

तराई क्षेत्रका लागि एक कठ्ठामा धानको बेर्ना तयार गर्न करिव ३४ केजी बीउको आवश्यकता पर्ने जसबाट १ बिघा खेत रोपाई गर्न सकिन्छ । पहाडी भेगको लागि एक रोपनी जग्गामा तयार गरेको बेर्नाले एक हेक्टर वा २० रोपनी क्षेत्रफल रोपाइ गर्न ५० केजी धानको विउ आवश्यकता पर्ने हुन्छ । 

व्याडका लागि मलखाद

गाउं घरमा पाइने असुरो, तितेपाती, खिर्रा, सिरिस आदि हरियो मल बनाएर प्रयोगमा ल्याउन सकिन्छ तर किसानहरुले रसायनिक मलको प्रयोग जथाभावी रुपमा प्रयोग गर्दै आएका छन् । 

बीउ छरेको २ देखि १० दिन पछि ५०० ग्राम (आधा कीलो) यूरिया १०० बर्ग मिटरको क्षेत्रफल ढाक्नेगरी छर्नुपछ । यसको प्रयोगले विउलाई बढ्न र हरियो बनाउन मद्दत पु¥याउने प्राविधिकहरु बताउछन् । 

ब्याडमा विउ छर्ने तरिका

बीउ छर्दा समथर जग्गा र छराईको एकरुपता हुनुपर्ने प्राविधिक अधिकृत विनोद यादव बताउछन् । उनी भन्छन् “तराई क्षेत्रका जमिनहरु बढी गहिराई हुने हुँदा ब्याड बनाउँद समथर, मिलेको र पानी नजम्ने र कटाउन सक्ने स्थानको छनोट गर्नुपर्ने हुन्छ । प्रति बर्गमिटर २।३ मुठी अङ्कुराएका विउहरु एकरुपताका साथ छर्नु पर्दछ । बेर्नाहरु बढ्ने अबस्थामा माटो ठीक्क भिज्ने गरी सिचाई दिनु पर्दछ ।” जब बीउ उम्रेर ३ से.मी का हुन्छन् तव झारपात आउन नदिन बेर्नाको उचाई बिचार गरी छिपछिपे हुने गरी पानी दिनु पर्ने यादव बताउछन् ।

ब्याडको रेखदेख 

धानको बेर्नाअनुसार उत्पादनमा निकै फरक आउने हुँदा बेर्नाको रेखदेखमा ध्यान पु¥याउनु पर्ने हुन्छ । गवारो, लिफ होप्पर, पात खाने कीरा, हिस्पा आदि कीराहरुबाट बचाउन कम्तीमा पनि २ पटक सिफारिस गरे अनुसारका बिषादी छर्नु पर्दछ । ब्याडलाई सुख्खा हुन नदिन पानीको स्तर कायम राखी आलीलाई राम्ररी मिलाउनु आवश्यक हुन्छ । ब्याडमा झारपात आउन नदिनका लागि समय समयमा हेरबिचार गरी झार आएको भए उखेली दिनु पर्दछ ।