धरान । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको कोशी प्रदेश अधिवेशनमा ‘कोशी प्रदेश’ नलेख्न जनजातिसम्बद्ध संस्थाहरुले माग गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।
भदौ २३ र २४ गते धरानमा हुने प्रदेश अधिवेशनको प्रचार सामाग्रीमा ‘कोशी’ नलेख्न सङ्गठनका नेताहरूलाई विज्ञप्ति मार्फत जानकारी गराएको भनिएको छ ।
यस्तै ‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरू र साम्प्रदायिक हिंसा भड्काउने, होच्याउने प्रकारको अभिव्यक्ति दिने अन्य केही व्यक्ति विरुद्ध कालो झण्डा देखाउने सङ्घर्ष समितिको नीति र कार्यक्रम रहेकोले सांसदहरुलाईसमेत नबोलाउन भनिएको छ ।
विज्ञप्तीमा नामै किटेर पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री योगेश भट्टराई र ‘आफ्नै समुदाय विरुद्ध उत्रिने’ क्षितिज थेबेलाई नबोलाउन भनिएको छ ।
यस्तै ‘कोशी’ नाम खारेजीको आन्दोलनकारीहरू दिवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायत माथि धनकुटा जिल्ला प्रहरीले लगाएको मुद्दा फिर्ता लिनुपर्ने शर्त पनि राखिएको छ ।