नसोचेको व्यापार गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ अघिल्लै दिन सबै सिट बुक

न्युजलय २० कार्तिक २०८१, मङ्गलबार ०६:४० मा प्रकाशित

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अनपेक्षित व्यापार गरेको छ ।


बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’सँग भिडिरहेको यो चलचित्रले खासै व्यापार नगर्ने अनुमान गरिएको थियो । तर सुरुमा हेर्नेहरुको सिफारिस अनि सामाजिक सञ्जालमा आएका सकारात्मक प्रतिक्रियाहरुको कारण शो अघिल्लो दिन नै हाउसफुल बुक हुन थालेको छ । 


प्रत्येक शो हाउसफूल भएपछि हलहरूले शो थपिरहेका छन् । शोको संख्या दोब्बर छ, तर पनि दर्शकहरु टिकट नपाएर दुई दिनसम्म पर्खन बाध्य छन् । सोमबार र मंगलबारका सबै टिकट अघिल्लै दिन बिक्रि भएपछि हलमै गएर टिकट काटी फिल्म हेर्न खोज्नेहरु निराश बनेका छन् । 


लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले जम्मा ३८ शो दिएको थियो । तर अहिले यो चलचित्रले ६० भन्दा बढी  शो पाएको छ । 


अन्य हलले पनि दुई देखि तीन गुणासम्म शो बढाएका छन् । 


सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 


चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।