घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रकाबीच हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईद्वारा प्रतिवद्वता पत्रमा हस्ताक्षर गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितताु भन्ने नाराका साथ हतुवगढी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाका ३०२ जना बालबालिकाहरुलाई राष्ट्रीय खोप तालिका अनुुसार खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताएका छन् ।
उनका अनूसार गाउपालिकालाई पूर्ण खोप युक्त गराउन पालिकाको तर्फबाट समेत आवश्यक बजेट थप गरेर प्रभावकारी बनाउन सफल भएको हो ।
सोही कार्यक्रमको अवसरमा ९ वटै वडा अन्तर्गत रहेका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र बाट उपस्थित प्रतिनिधिलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले पालिका अन्तर्गत वडाहरूमा घर–घरमा पुगेर १६ देखि ५९ महिना सम्मका बालबालिकाहरूलाई १५ महिना उमेर भित्र प्रदान गरिने विभिन्न १३ प्रकारका खोप लगाइ सकिएकाले पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जयकुमार राईले जानकारी दिएका छन् ।
वैशाख मसान्त सम्म जिल्लालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको छ । ९ स्थानीय तह रहेको भोजपुरमा साल्पासिलिछो गाउँपालिका र भोजपुर नगरपालिका पूर्ण खोप युक्त घोषणाको अन्तिम चरणमा रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य निरीक्षक पशुपति देवले जानकारी दिए ।