धनकुटामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०८:२८ मा प्रकाशित

धनकुटा । धनकुटाको पाख्रिबासमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 


पाख्रिबास बजारबाट सुनबालुवातर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्र्याक्टर पाख्रिबास नगरपालिका ८ लुम्पुवामा दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्र्याक्टरका सहचालक पाख्रिबास नगरपालिका ७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । 


ट्र्याक्टरको इन्जिनको भाग सडकको बीचमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए । तामाङको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।


सहचालकको मृत्यु भएको भनिएपछि पनि चालक नदेखिएकाले कसले ट्र्याक्टर चलाएको थियो भनेर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।