काठमाडौँ । अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईईसी) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।
आईईसीको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित हुनेछन् ।
सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आईईसीका अनुसार उक्त सूचीमा सन् २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेकाहरू समावेश छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालेको हो ।