काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलो भोल्ट प्रसारणलाइनबाट दातृ निकाय विश्व बैंक पछि हटेको छ । एक दशकसम्म पनि विभिन्न ठाउँका अवरोध नहटेपछि बैंकले हात झिकेको हो ।
विश्व बैंकले परियोजनाका लागि १३८ मिलियन डलर लगानी गर्ने सम्झौता गरेको थियो । तर करिब ११५ मिलियन डलर खर्च गरेपछि विश्व बैंकले परियोजनामा लगानी नगर्ने निर्णय लिएको हो ।
आयोजनाको म्याद चार पटक थप भइसकेको छ । आयोजना लम्बिने र डलरको मूल्य बढ्ने समस्याले आयोजना महँगिंदै गएको छ । आयोजना सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ ।
यो प्रसारणलाइन नबन्दा माथिल्लो तामाकोशीको विद्युत आन्तरिक खपतका लागि ढल्केबरबाट पूर्व र पश्चिम पठाउन सकिएको छैन । निर्माण स्थल र रुटबारे स्थानीयसँगको विवाद, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोरी लगायतका कारण निर्माण सक्ने मिति पछाडि धकेलिंदै गएको छ ।