एसओएसले मनायो अविभावक दिवस

न्युजलय २ फाल्गुण २०८२, शनिवार ०९:३३ मा प्रकाशित

इटहरी । इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले शुक्रबार २९औँ अभिभावक दिवस मनाएको छ । 


विद्यार्थीहरुको प्रतिभा प्रस्तुती र पुरस्कार वितरण गर्दै मनाइएको अविभावक दिवसमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो प्रमुख आतिथि रहेका थिए । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकालाई संरक्षण र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एसओएसलाई प्रदेश सरकारको तर्फबाट यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


विशेष अतिथि सङ्गीता चौधरीले पनि सहयोगको आश्वासन दिएकी थिइन् । उनले समयको मागअनुसार डिजिटल प्रविधिमैत्री शिक्षामा जोड दिएकी थिइन् । कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले पनि विद्यालयले समावेशितालाई व्यवहारमा उतार्दै उदाहरणीय कार्य गरेको उल्लेख गरे ।


विशेष अतिथिका रूपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी उपस्थित थिए । 


कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तिम्सिनाले स्वागत मन्तव्य दिएका थिए । विद्यालयका प्रधानाध्यापक शशि कुमार उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी दिएका थिए । 


कार्यक्रमको औपचारिक सत्र शिक्षकद्वय पुष्प पराजुली र सृजना राउतले सञ्चालन गरेका थिए भने अनौपचारिक सत्र कक्षा ११ की छात्रा सबिना खतिवडा र कक्षा ९ का छात्र विपिन खड्काले सञ्चालन गरेका थिए । 


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।


अतिथिहरूमा इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्ड का प्रमुख प्रकाश खरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीका प्रतिनिधि, कार्यपालिका सदस्य दिनेश रसाइली, विभिन्न विद्यालयका प्रधानाध्यापक, पूर्वशिक्षक, सञ्चारकर्मी, अभिभावक तथा नर्सरीदेखि कक्षा ११ सम्म अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।