इटहरी । बैंकमा जम्मा गरेको सर्वसाधारणको पैसा ठगी गरेको आरोपमा पक्राउ परेका एभरेस्ट बैंकका प्रबन्धकसहित १३ जना आरोपीको बयान आइतबार (आज) देखि सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका अनुसार पक्राउ परेका ९ जना र फरार रहेको ४ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा गत शुक्रबार बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो ।
जसमा ७ जना बैंकका कर्मचारी छन् भने अन्य ६ जना पैसा झिक्ने व्यक्ति रहेका छन् । बैंकका उदयपुरका अपरेसन मेनेजर विराटनगर–८ का ३४ वर्षीय प्रधान, इटहरी शाखा प्रबन्धक तथा सिन्धुपाल्चोक बाह्रबिसे–८ का ४२ वर्षीय विश्वराज शाक्य, बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई प्रतिवादी बनाएर अभियोग दर्ता भएको छ ।
बैंकको रकम अपचलन गर्ने गिरोहका मुख्य योजना प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।आजदेखि उच्च अदालत विराटनगरको वाणिज्य इजलासमा प्रतिवादीको बयान सुरु हुने र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेस्ट बैंक गाईघाट शाखाका अपरेसन इन्चार्ज प्रधानलाई पक्राउ गरेको थियो ।
पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपिएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
इटहरी शाखामा कार्यरत प्रधानको गत मार्चमा गाईघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।
कर्मचारीले ३३ जना ग्राहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए । त्यसपछि बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।