शिवसताक्षीमा प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०२:०४ मा प्रकाशित

झापा ।  शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्युटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेको प्रहरीले जानकारी दिएको हो। 

उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे ४ प२७५१ नम्बरको मोटरसाइकल लापर्वाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गरेका थिए।

सोही क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाइछिपाइ ल्याएको बन्चरोले कटुवालमाथि प्रहार गरेका थिए। बन्चरो प्रहारबाट घाइते प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दूधे मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको छ।

मोटरसाइकल चालक अरुण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको बताइएको छ। 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ।