मुम्बई । बलिउड अभिनेता अक्षय कुमार एउटा भिडियोका कारण समस्यामा परेका छन् । केहि दिन अगाडि अक्षय कुमारले एउटा इन्टरनेशनल एयरलाइन्सको प्रचार गर्दै गरेको देखिएको थियो । उक्त प्रचार सामग्रीमा उनलाई ग्लोबमा हिँड्दै गरेको देखिएको थियो ।
त्यसक्रममा उनले जहाँ टेकेका थिए, त्यसको ठिक मुन्तिर भारतको नक्शा थियो । त्यसैले उनले भारतको नक्शाको अपमान गरेको भन्दै मानिसहरुले आपत्ति जनाएका छन् ।
यसैबीच, भारतकै एक जना अधिवक्ताले छत्तिसगढको गौरेला जिल्लास्थित पेन्ड्रा थानामा अक्षय कुमारविरुद्ध उजुरी दर्ता गराएका छन् ।
वीरेन्द्र पञ्जाबीले उजुरी पत्रको प्रतिलिपि भारतको गृह मन्त्रालयलाई पनि पठाएका छन्, जसमा लेखिएको छ– ‘अक्षय कुमार (राजीव भाटिया) प्राइम जुहु, मुम्बई निवासीद्वारा आफ्नो इन्स्टाग्राम एवं फेसबुकमा एउटा भिडियो शेयर गरेका छन् । जसमा उनी ग्लोब म्यापमा जुत्ता लगाएर भारतको नक्शामा उभिएका छन् । उनले यसरी भारतको नक्शामा उभिनु भारत माताको अपमान हो । उनको उक्त कृत्य राष्ट्रिय सम्मान अपमान निवारण अधिनियम १९७१ अनुसार दण्डनीय छ । यस्तो स्थितिमा अक्षय कुमारविरुद्ध विधि अनुसार कारवाही गरियोस् । यसका साथै अक्षय कुमारको नक्शामा अभिएको फोटो र भिडियो डिलीट गरियोस् । यसका साथै उनीविरुद्ध एफआईआर दर्ता गरेर दण्डात्मक कारवाही गरियोस् ।’