विराटनगर । प्रदेश १ मा पनि बन्दको प्रभाव परेको छ । प्रदेश राजधानी विराटनगरमा आज लामो दूरीका सर्वाजनिक सवारीका साधनहरु बसपार्कमै थन्किएका छन् ।
बन्दका कारण प्रमुख सहरहरु धरान, इटहरी, दमक, बिर्तामोडलगायत ठाउँमा पनि सार्वजनिक सवारी साधान चलेका छैनन् । छिटपुट रुपमा निजी सवारी साधन चलेका छन् । मोटरसाइकल भने निर्वाध गुडेका छन् ।
विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण शैक्षिक संस्थाहरु संचालन नहुने भन्दै अभिभावक तथा विद्यार्थीलाई सूचित गरेका छन् । बन्दमा प्रेस, तरकारी, दूध बोकेका सवारी र एम्बुलेन्स भने निर्वाध चलेका छन् ।
नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो ।
सुनसरीको धरानबाट गन्तव्यमा हिँडेका यात्रुहरू सडकमै अलपत्र परेका छन् । धरानमा फाट्टफुट्ट ट्याम्पो र सिटी सफारी चलेका छन् । विप्लव समूहले प्रदेश १ का विभिन्न ठाउँमा हिजो साँझ राँकेजुलुस निकालेको थियो ।