सुनसरी–२ मा एमाले उम्मेदवार सुजनका प्रतिबद्धतापत्र सार्वजनिक

न्युजलय ६ फाल्गुण २०८२, बुधबार ०६:०६ मा प्रकाशित

इटहरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुजन लामाको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।


क्षेत्र नं. २ का चुनावी कमाण्डर द्वारिकलाल चौधरी, पूर्व केन्द्रीय सदस्यहरु लक्ष्मी गौतम तथा कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रदेश सांसद मिना श्रेष्ठलगायत नेताहरूको सहभागितामा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । 


सार्वजनिक प्रतिबद्धतापत्रमा राष्ट्रियता, सुशासन, विकास र समृद्धिका साथै स्थानीय समस्या र विकासका कुराहरुलाई समेत सम्बोधन गरिएको छ । शिक्षा, स्वास्थ्य, पुर्वाधार आदि क्षेत्रमा लामाले काम गरेर छाड्ने प्रतिबद्धता जनाएका छन् । 


सडक, ढल, खानेपानी, सिँचाइ, पुल तथा अन्य आधारभूत संरचनाको निर्माणलाई गति दिने, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, युवा लक्षित स्वरोजगार तथा रोजगार सिर्जना, सीपमूलक तालिम, कृषि आधुनिकीकरण, मल–बीउको सहज उपलब्धता र किसानका उत्पादनको बजारीकरणमा विशेष जोड दिइने उल्लेख छ । साथै उद्योगलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण तथा सहुलियतपूर्ण ऋणका प्रतिबद्धताहरु जनाएका छन् ।



लामा भन्छन्, ‘यो क्षेत्रको भाग्य र भविष्य बदल्ने दिगो विकासमा लाग्छु’

म इटहरीमा दोस्रो पुस्ताको एमाले हुँ । १० वर्षको हुँदा आमाबुवासँगै ५४ सालमा भएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको लागि पहिलो पटक एमालेको झण्डा बोकेर चुनाव प्रचारप्रसारको लागि हिडेको थिएँ । त्यसपछि नै मलाई नेकपा एमाले प्रति झुकाव बढ्यो । मेरो बुवा भक्त लामा मजदुर नेता, किसान संगठक हुनुहुन्थ्यो । वहाँ अहिले इटहरी वडा नं. ४ का वडाध्यक्ष हुनुहुन्छ ।

सक्रिय राजनीतिमा भने म ६५ सालदेखि लागेको हुँ । पार्टीको २ नं. क्षेत्रीय कमिटि सदस्य, नगर कमिटिको सचिवालय सदस्य जिल्ला हुँदै अहिले म जिल्ला कमिटि सदस्यको रुपमा कार्यरत छु ।  

यस्तै यता युवा संघमा पनि जिल्ला कमिटि अध्यक्ष हुँदै अहिले म प्रदेश कमिटि अध्यक्षको जिम्मेवारीमा छु ।


मेरो निर्वाचन क्षेत्र पाँच वटा पालिकामा फैलिएको छ । जसमा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही वडाहरु यहाँ पर्छन् । पुर्वमै तीव्र आर्थिक विकास भएको शहरदेखि विकासमा पछि पारिएका ग्रामिण भुभाग पनि यहाँ छन् । त्यसैले यो क्षेत्रका मतदाताहरुका धेरै समस्या छन् ।


मेरो मुख्य एजेण्डा भनेको युवा, रोजगारी, शिक्षा अनि दीर्घकालिन विकास परियोजनाहरु हुन् । जसले यस क्षेत्रको भाग्य र भविष्य बदल्न सकोस् ।


खासगरी यहाँका युवाहरुले राम्रो रोजगारी पाइरहेका छैनन् । व्यापार व्यवशाय गर्ने युवाहरुलाई पनि प्रबद्र्धन हुने खालको नीति र व्यवस्था लागु गर्ने सन्दर्भमा सरकारले ध्यान दिन नसक्दा युवाहरु उत्साहित छैनन् र विदेश पलायन भइरहेका छन् । व्यापारको वातावरण बनाउनका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने, रोजगारीको अवसर सृजना गर्नका लागि ठूला परियोजना र व्यवशायहरुलाई यस क्षेत्रमा भित्राउन पहल गर्ने योजना छ । युवाहरुको मुख्य समस्याको रुपमा लागु औषध दुव्र्यसन रहेको छ । जसलाई न्युनिकरणका लागि युवाहरुलाई रोजगार र सामाजिक कार्यमा अघि बढाउने योजना छ ।

युवादेखि बालबालिकाहरुसम्मलाई खेलकुद प्रतियोगिता तथा प्रशिक्षण अनि ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि योगा र कसरतका लागि आवश्यक व्यवस्थापन गर्ने विषयमा पनि स्थानीय तह, प्रदेश र संघीय सरकार अनि स्थानीय व्यवशायी तथा समाजसेवीको सहयोग र सहकार्यमा आवश्यक काम गर्नेछु । 

यस क्षेत्रमा भइरहेको संगीत, कला, साहित्यसम्बन्धि गतिविधिलाई प्रबद्र्धन गर्दै साहित्यिक, कला उत्सव गर्ने, संगीत र कलाको विद्यालय खोल्ने समेत मेरो योजना छ ।

यस्तै गुणस्तरीय शिक्षा पनि यस क्षेत्रका वासिन्दाहरुले देखेको सपना हो । जसलाई पुरा गर्नका लागि स्थानीयदेखि संघीय सरकार चुकिरहेको छ । सरकारी स्कुलहरु केहीले आफूलाई सुधार गरेर अब्बलसमेत प्रमाणित गरेका छन् । जस्तै इटहरीको जनता स्कुलमा निकै राम्रो सुधार भएको छ । बजेट मात्रै हालेर पनि हुँदैन । सबैजना जुट्ने हो र एउटा प्रतिबद्धता जनाउने हो भने यस क्षेत्रमा रहेका सबै स्कुलहरुलाई सुधार गर्न सकिन्छ । रामधुनी, देवानगन्जदेखि हरीनगरसम्मका स्कुलहरुको अवस्था सुधारका लागि म विशेष योजना बनाएर पहल गर्नेछु । साथै सीपमुलक व्यवहारिक शिक्षा दिइ विद्यालयजीवनदेखि नै विद्यार्थीहरुलाई सृजनशील बनाउने योजना छ ।

यस्तै यहाँ तालतलैया, प्रणामी मन्दिरलगायत धेरै पर्यटकीय क्षेत्रहरु छन्, तिनको प्रचारप्रसार र विकासमा ध्यान दिने हो भने त्यसले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्धत गर्छ । यस्तै नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न सकिने धेरै ठाउँ छन् । म त्यसको लागि सबै पक्षको सहयोग जुटाएर लागिपर्छु ।


यस्तै सबैजसो पालिकाहरुमा बाढीको समस्या छ । त्यसका लागि तटबन्ध र नदी नियन्त्रणका अन्य उपायहरुको खोजी गर्ने र बजेटका लागि पहल गर्ने काम गर्नेछु । 

यस क्षेत्रमा राम्रो स्वास्थ्य संस्थाको अभाव हुँदा उपचारका लागि धरान र विराटनगर धाउनुपर्ने बाध्यता छ । मेरो पहल यहाँ राम्रो स्वास्थ्य संस्था विकास गर्नका लागि पहल गर्नु पनि हुनेछ । 

अव्यवस्थित बसोबासको समस्या समाधानका लागि पनि मजबुत ढंगले पहल गर्नुपर्ने आवश्यकता छ भने इटहरीलाई बाइपास बाटोहरुले जोड्ने र करिडोर बनाएर यहाँका किसानहरुले गरेका उत्पादनलाई बजारसम्म ल्याउने कार्यलाई सहज बनाउन पहल गर्नेछु । 


अन्य मेरा योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएका छन् । म गाउँका सामान्य समस्याहरुलाई स्थानीयस्तरमै समाधान गराउनका लागि पहल गर्नेछु भने ठूला समस्याहरु समाधानका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नेछु ।


समग्रमा म युवा हुँ । युवाको भावना बुझ्छु । जेन्जीहरुले राखेका मागलाई बुलन्द गरेर सदनभित्र उठाउनेछु । यस्तै आवाज उठाउने मात्र होइन, म एग्रेसिभली काम पनि गर्न सक्छु । युवाहरुलाई एकजुट बनाउन सक्छु । युवाका साथै महिलाहरुको पनि सीप विकास र शिक्षामा जोड दिन्छु । ज्येष्ठ नागरिकहरुलाई भत्ता बढाउनुका साथै स्वास्थ सुविधा वृद्धिका लागि पहल गर्नेछु ।