निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

न्युजलय ७ बैशाख २०८०, बिहिबार ०७:४३ मा प्रकाशित

रूकुम पश्चिम । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराइका अनुसार मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षिय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् । 

दुर्घटनमा परी ३ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहोलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा ९ जना कामदार खटिएका थिए ।

जसमध्ये ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासीका छन् । गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षिय सञ्जयकुमार गौतम, ६० वर्षिय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका–१० का ३८ वर्षिय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी भट्टराइले बताए । 

भारत बहराइच मधुवापुरका ३२ वर्षिय गोरख नाथ, सोही ठाउँका ५० वर्षिय मैकु गौतम र १९ वर्षिय सोनु चुमार र नवलपरासीका क्रेन चालक २५ वर्षिय निरजकुमार चौधरीको अवस्था समान्य छ । उनीहरुको उपचार जाजरकोटकको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा भइरहेको छ ।

जाजरकोटको नलगाड नगरपालिका( १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ४ छरेबगर डावा जोड्ने पुल स्काभेटरले काम गर्दै गर्दा भाँचिएको थियो ।