इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइने भएको छ।
निर्वाचनलाई प्रभावित पार्न सक्ने सीमापार गतिविधि नियन्त्रण गर्न नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा ती जिल्लासँग सीमा जोडिएका भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूबीच सम्पन्न समन्वय बैठकले उक्त निर्णय गरेको हो।
बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ।
यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवतजावतमा कडाइ गरिनेछ, जसले चुनावी प्रभाव पार्ने बाह्य हस्तक्षेप र अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्वाचनको समयमा सीमालाई ‘सुरक्षा संवेदनशील क्षेत्र’का रूपमा लिँदै अपनाइएको यो रणनीतिले कोशी प्रदेशमा हुने निर्वाचन परिणाममाथि बाह्य प्रभाव पर्न नदिन निर्णायक भूमिका खेल्ने सुरक्षा अधिकारीहरूको विश्वास छ।