धरणीधर दाहालको स्मृतिमा संगीतिज्ञ र संस्कृतिविद् सम्मानित

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०६:४३ मा प्रकाशित

इटहरी । साहित्यकार, समाजसेवी तथा नृवंशशास्त्री धरणीधर दाहालको ९९ औँ जन्मजयन्तीका अवसरमा दुई जना व्यक्तिहरु सम्मानित भएका छन् । 


इटहरी साहित्यिक समूहको आयोजनामा भएको कार्यक्रममा संगीतिज्ञ प्रा. डा. धुर्वेशचन्द्र रेग्मी र वरिष्ठ संस्कृतिविद् प्रा. डा. भक्त राई सम्मानित भएका हुन् । दुवैलाई सम्मानपत्रसहित नगद ५१–५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । 


प्रा. डा. गोविन्द गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको सभापतित्वमा भएको थियो । 


कार्यक्रममा बोल्दै वक्ताहरूले धरणीधर दाहालले नेपाली साहित्य, समाजसेवा र नृवंशशास्त्रका क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै उनको कृतित्व र व्यक्तित्वले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको धारणा व्यक्त गरे । दाहालले भारतको सिक्किम र नेपालमा साहित्य, शिक्षा, खोजअनुसन्धान तथा सामाजिक अभियानमार्फत् योगदान दिएका थिए ।


यस्तो सम्मान कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउने धरणीधर दहाल स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दहालले जानकारी दिए ।