काठमाडौं । महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जनाएका छन् ।
मृतक अमृता भंगहा २ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ।
बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका ५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताए।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो। दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ।