बैंकले दिएको यातनाविरुद्ध एकजुट हुन व्यशायीको आह्वान

न्युजलय २९ चैत २०७९, बुधबार ०८:१५ मा प्रकाशित

इटहरी । इटहरीका व्यावसायीले बैँक तथा वित्तीय संस्थाले व्यवशायीहरुलाई मानसिक तथा शारिरिक यातना दिएको आरोप लगाएका छन् । 

ऋणवापत बैँकको व्याज अत्याधिक मनपरी वृद्धि गरेको र ऋण तिर्नको लागि समय माग्दा पनि अटेर गर्दै व्यक्तिको सामाजिक प्रतिष्ठा ख्याल नगरी ताकेता गरेको आरोप लगाएका हुन् । 

इटहरी उद्योग वाणिज्य संघले मंगलबार राखेको बैँक तथा वित्तीय संस्थाको व्याजका सन्दर्भकमा अन्तक्रिया कार्यक्रममा आफ्नो समस्या राख्दै व्यवसायीहरुले बैंकको यातनाविरुद्ध एकजुट हुनुपर्ने धारणा राखेका छन् । 

कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष तथा व्यवसायी दिपक गौतमले व्यापारीहरु परिस्थितीजन्य शिकार भएको बताउँदै अहिले चैत्र महिनासम्मको व्याज तथा किस्ता असार सम्ममा तिर्नेगरी समन्वय गर्न पहल थाल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका पूर्व नगरसभापति मेदनी सिटौलाले बैँकको व्याजका कारण मानविय क्षति हुनबाट जोगाउन उद्योग वाणिज्य संघको तर्फबाट पहल हुनुपर्ने धारणा राखेका थिए । 

सहभागि व्यवशायीहरुले आर्थिक मन्दीको समयमा एकातिर व्यापार नभएको र अर्कोतिर बैँकको तनावका कारण मानसिक भार बढेको गुनासो गरेका थिए ।

उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापारीलाई बैँकले तनाव दिएको खण्डमा संघ जतिवेला पनि उपलव्ध हुने र व्यवसायीको हितका लागि काम गर्ने बताए । संघले चाँडै नै समिति बनाएर बैँक तथा वित्तीय संस्थाले दिएको सामाजिक  तथा मानसिक तनावको लागि काम गर्ने बताए ।