काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ ।
साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । भारतका ९ र घानाका ३ नागरिकको उक्त दुर्घटनामा ज्यान गएको छ ।
साउदी रेड क्रेसेन्टका प्रवक्ताका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको छ । जिजानको बाइस अस्पतालमा उनको उपचार भइरहेको छ ।
कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने श्रमिक दुर्घटनामा परेका हुन् ।