सुनसरी । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट सुनसरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल तामाङले आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । जनताको सेवा, सुशासन, विकास र समृद्धिलाई केन्द्रमा राख्दै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजनीतिक तथा संवैधानिक सुधारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, संसद बाहिरका विज्ञलाई मन्त्री बनाउने व्यवस्था तथा सांसदको शैक्षिक योग्यता निर्धारण गर्ने पहल गर्ने पार्टी नीतिका लागि काम गर्ने बताएका छन्। साथै भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारलाई थप शक्तिशाली बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरी एलएलबी अध्ययनरत युवा नेता तामाङले आफू सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको बताउँदै सहयोगको अपेक्षा गरेका छन् ।
सुशासन तथा निर्वाचन सुधारअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य संख्या घटाउने, मन्त्रालय संख्या सीमित गर्ने तथा नागरिकले समयमै सार्वजनिक सेवा पाउने व्यवस्था सुनिश्चित गर्ने योजना अघि सारेका छन्।
पर्यटन तथा संस्कृति क्षेत्रको विकासका लागि रामधुनी मन्दिर र तालतलैया क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, थारु संस्कृतिको संरक्षणका लागि थारुग्राम स्थापना गर्ने तथा सांस्कृतिक संग्रहालय निर्माण गर्ने बताएका छन्।
भौतिक पूर्वाधारतर्फ इनरुवा–देवानगञ्ज सडक कालोपत्रे, विभिन्न सडक तथा पुल निर्माण तथा बाढी नियन्त्रणका दीर्घकालीन योजना लागू गर्ने बताएका छन्।
यसैगरी स्वास्थ्य तथा शिक्षामा इटहरी अस्पतालको स्तरोन्नति, रामधुनी र देवानगञ्जमा अत्याधुनिक अस्पताल निर्माण, स्मार्ट स्कूल अभियान सञ्चालन तथा उच्च शिक्षालाई निःशुल्क बनाउने योजना रहेको बताएका छन्।
कृषि, रोजगारी र युवाका क्षेत्रमा किसानलाई मल, बीउ र सिंचाइमा अनुदान, शीतभण्डार स्थापना, युवाका लागि स्टार्टअप कोष, डिजिटल सीप तालिम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा भूमिहीन तथा सुकुम्बासीलाई आवास र जग्गा उपलब्ध गराउने, ज्येष्ठ नागरिक र महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका छन्।