राजविराज । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।
दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।
यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोर कुमार रामले बताए ।
छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना गरिएको मृतकका श्रीमती मञ्जुदेबी यादवले बताइन् ।