घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) डिजाइन गर्नका लागि खुला सूचना प्रकाशित गरेको छ ।
सोमबार गाउँपालिले एक सूचना जारी गर्दै लोगो डिजाइन सम्बन्धी प्रस्ताव माग गरिएको हो ।
सूचनाअनुसार “समतामूलक समाज र समुन्नत हतुवागढी स् कृषि, उद्योग, पर्यटन, पूर्वाधार र प्रविधि” भन्ने मूल नारालाई आत्मसात् गर्दै नागरिकलाई सहज, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ लोगो डिजाइन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
लोगो डिजाइन गर्दा हतुवागढी गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक पहिचान झल्किनुपर्ने उल्लेख गरिएको छ। साथै अन्य स्थानीय तहका लोगोभन्दा भिन्न, मौलिक र सृजनात्मक डिजाइन हुनुपर्ने तथा प्रयोग गरिएका चित्र, रङ र शब्दहरूको स्पष्ट व्याख्या तथा विश्लेषणसमेत समावेश गर्नुपर्ने सर्त राखिएको छ।
खुला प्रतिस्पर्धामार्फत प्रस्ताव पेश गर्न सकिने यस प्रक्रियामा सरकारी, सामुदायिक तथा गैरसरकारी संघ–संस्था, कर्मचारी तथा सर्वसाधारण सबै सहभागी हुन सक्नेछन्।
सूचना प्रकाशन मितिले १५ दिनभित्र लोगो डिजाइन A4 साइजको कागजमा स्पष्ट रङ्गीन प्रिन्टसहित गाउँपालिकाको प्रशासन शाखामा पेश गर्न सकिनेछ। साथै विद्युतीय माध्यमबाट [email protected] इमेलमार्फत पनि प्रस्ताव पठाउन सकिने व्यवस्था गरिएको छ।
छनोटमा पर्ने उत्कृष्ट लोगो डिजाइनलाई नगद रु। २१ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ। छनोट भएको लोगो गाउँपालिकाको सम्पत्ति हुने र त्यससम्बन्धी सम्पूर्ण अधिकार हतुवागढी गाउँपालिकामा सुरक्षित रहने सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले स्थानीय मौलिकता झल्किने, दीर्घकालीन प्रयोगयोग्य र सबैको अपनत्व महसुस हुने लोगो डिजाइनका लागि सरोकारवाला सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।