साफ यु‍-१८ च्याम्पियनसिप : आज बंगलादेशसँग भिड्दै नेपाल

न्युजलय ९ चैत २०७८, बुधबार ०१:५६ मा प्रकाशित

काठमाडौं । भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेल आज बंगलादेशसँग खेल्दैछ । खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा बेलुका सवा ७ बजे सुरु हुनेछ ।


बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, गत संस्करण विजेता बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल उक्त हारको बदला लिन चाहन्छ ।


नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमशः ७–० र ५–१ को हार बेहोरेको थियो । बंगलादेश भने नेपालविरुद्धको जितलाई कायम राख्ने सोचमा छ । उसले दोस्रो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो ।


३ खेलमा अंक विहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।