विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित दूधफारममा साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गत बुधबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका–६ बस्ने साइकल चालक २७ वर्षीय पवन साहमाथि मुक्का प्रहार भएको थियो।
उनलाई विपरीत दिशाबाट जाँदै गरेको बा १५ च ३४४५ नम्बरको कारमा सवार १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की समेत गरी तीन जनाले कारबाट झरेर मुक्का प्रहार गरी लडाई घिसारेर घाइते बनाएका थिए।
तीमध्ये आयुष भेटुवाललाई भने प्रहरीले गत बिहीबारै पक्राउ गरेको हो। उनीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानूनी कारबाही अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङले घटनामा संलग्न रही फरार अन्य दुई जनाको खोजतलास गरिरहेको छ।