अभिनेता सारुकको मृत्यु शंकास्पद, गाँजा, तन्त्रमन्त्रदेखि लिभिङ टुगेदरसम्म चर्चामा

न्युजलय ३२ असार २०८०, सोमबार ०७:३८ मा प्रकाशित

काठमाडौंं । गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलाको रेलिङमा पासो लगाएर मृत भेटिएका अभिनेता सारुक ताम्राकारको मृत्यु शंकास्पद बनेको छ । खासगरी उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्धबारे नयाँ कुरा खुलाएपछि मृत्यु शंकास्पद बनेको हो ।


३३ वर्षका सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबु सानु ताम्राकारले न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।


निर्देशक गुरुङले चलचित्रकी अभिनेत्री तथा सारुकसँग लिभिङ टुगेदरमा बसेकी नम्रता श्रेष्ठको गतिविधि शंकास्पद देखिएको भन्दै अन्तर्वार्ता दिएका थिए । उनका अनुसार नम्रताले एक तान्त्रिकसँग भेटाउने भन्दै सारुकलाई मध्यरातमा दोलालघाट लगेकी थिइन् ।


घाटमा रहेको शिव मन्दिरमा मध्यरातमा सारुक र नम्रताले तान्त्रिक विधिबाट विशेष पूजा गर्दै कालो बोका बली चढाएको उनले बताएका छन् । सो बोकाको मासु आफू, नम्रता र सारुकले खाएको र ती तान्त्रिकले आफूहरू तीनै जनालाई बुटी पनि लगाइदिएको निर्देशक राजीवले खुलाएका छन् । सिनेमाका लागि राम्रो हुन्छ भनेर सो पूजाका लागि आफूले ५ लाख रुपैयाँ तिरेको पनि उनले बताएका छन् ।


‘तन्त्रविद्या तथा भूतप्रेतमा पटक्कै विश्वास नगर्ने र मासु नखाने मेरो छोराले मसानघाटमा त्यस्तो पूजा गरेर बोकाको मासु खायो भन्दा हामीलाई अचम्म लागेको छ,’ उनले बाबु सानुले भने,  ‘केही समयअघिबाट एउटा कालो कपडाजस्तो डोरीले बानेको बुटी छोराले घाँटीमा लगाएको थियो, मैले त सुटिङका लागि त्यत्तिकै लगाएको होला भन्ठानेको, त्यो बुटीको रहस्य अहिले पो बुझदै छु ।’ 


यति मात्र होइन, धुमपानसमेत नगर्ने छोराले पछिल्लो समय यस चलचित्रको युनिटसँग बसेर ‘तमाखु’ तान्ने गरेको खबरले समेत आफूलाई दुःखी तुल्याएको उनले बताएका छन् ।


त्यसो त नम्रता र सारुक बस्ने फ्ल्याटमा अर्को एक जना पनि बस्ने गरेको, उनीहरुले त्यहाँ गाँजा नियमित सेवन गर्ने गरेको र मृत्यु हुनु केही दिनअघि नम्रतासँग सारुकको झगडा परेको पनि बताइएको छ । त्यसपछि सारुक रातोपुलस्थित आफ्नै घरमा गएर बस्न थालेका थिए । 


घटनापनि नम्रता सम्पर्कविहिन रहेको बताइएको छ । परिवारले जाहेरी दिएमा नम्रता पक्राउ पर्ने र सत्यतथ्य बाहिर आउने सम्भावना छ । प्रहरीले शारुकको कल डिटेल र मोबाइसमेत अनुसन्धान गरिरहकेो छ ।