कोसी अस्पतालमा उपचाररत सुत्केरीको मृत्यु

न्युजलय ३३ साउन २०८०, शुक्रबार ०८:०२ मा प्रकाशित

विराटनगर । विराटनगरको कोसी अस्पतालमा उपचाररत ८ दिनकी सुत्केरीको मृत्यु भएको छ। 

अस्पतालको आईसीयूमा उपचाररत मोरङको रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतलाई राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। सुलेखाले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्। सामान्य प्रसूतिमार्फत शिशु जन्माएकी उनलाई अस्पतालले २६ गते डिस्चार्ज दिएर घर पठाएको थियो। 

श्वासप्रश्वासमा समस्या भएको भन्दै परिवारका सदस्यले सुलेखालाई साउन २८ गते उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएका थिए। आईसीयूमा उपचाररत अवस्थामै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। सुत्केरीको मृत्यु हुनुको कारण अस्पतालले सार्वजनिक गरेको छैन। 

सुलेखाको मृत्युपछि आफन्त र परिवारका सदस्यले कोसी अस्पताल परिषरमा प्रदर्शन र नाराबाजी गरेका थिए। चिकित्सकको लापरबाहीले घटना भएको आरोप उनीहरुको थियो। 

लापरबाही गर्ने चिकित्सकलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा छानबिन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै सुरु भएको प्रदर्शन र नाराबाजीका कारण अस्पताल परिषर अशान्त बन्यो। स्थितिलाई नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

मृतकको शव अस्पतालमै छ। शुक्रबार बिहान छलफलको तयारी गरिएको अस्पतालले जनाएको छ।