पाख्रीबास नगरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

न्युजलय १४ बैशाख २०८०, बिहिबार ११:०८ मा प्रकाशित

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै महिना तीन प्रमुख प्रशासकीय अधिकृतलाई पाख्रीबास नगरपालिकामा खटायो। तर, उनीहरू कोही पनि खटाइएको ठाउँमा नआइ मन्त्रालयमै बसे। कसैले उताउतै अन्यन्त्र सरुवा मिलाए। 

सरकारले खटाएपछि प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्रमा आउनुपर्ने नगर उपप्रमुख नम्रता गौतम बताउँछिन्। 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल गत फागुन ८ गते रमानापत्र लिँदै जिल्ला समन्वय समिति नुवाकोटमा सरुवा भएका थिए। त्यसपछि रिक्त ठाउँमा मन्त्रालयले नारायणप्रसाद भट्टराईलाई खटाएको थियो। तर, उनी पाख्रीबासमा पाइला नटेक्दै चैत १३ गते मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भए। 

सरकारले त्यसपछि चैत २० गते पर्वतको फलेवासमा कार्यरत नेत्रप्रसाद पौडेललाई सरुवा गर्‍यो। उनी पनि यता नआई मन्त्रालयबाट अन्यत्र सरुवा भए। मन्त्रालयले चैत २७ गते उदयपुरको त्रियुगामा कार्यरत सञ्जयबहादुर राजलवटलाई यता सरुवा गर्‍यो। उनी पनि पाख्रीबास नआई मन्त्रालयतिर गए।

मन्त्रालयले पठाउने तर माथि–माथि मिलाएर अन्यत्र जाने गर्नाले पाख्रिवास फागुन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। जसकारण स्थानीय सरकारका अधिकांश काम ठप्प भएका छन्। 

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोर्खबहादुर तामाङले सम्हालिरहे पनि उनले दैनिक प्रशासनका काम मात्रै गरिरहेका छन्। प्रमुख प्रशासकीय नहुँदा जति हुनुपर्ने हो त्यति काम हुन नसकेको उपप्रमुख गौतमको भनाइ छ।