टोपबहादुरका छोरालाई चेक काट्ने अशोक, जो इटहरीमा एपेक्स अस्पताल सञ्चालन गर्थे

न्युजलय २२ बैशाख २०८०, शुक्रबार ०८:०६ मा प्रकाशित

इटहरी । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी र त्यससँग जोडिएका विभिन्न भीआइपी पक्राउको समाचारले अहिले नेपाल तातेको छ । 

भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउने क्रममा छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दै एक गिरोहले नक्कली शरणार्थीको सूची बनाइ पैसा उठाएको थियो । झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायतका जिल्लाबाट ८७५ जनालाई नक्कली शरणार्थी बनाइ जनही १० देखि १५ लाख रुपैया उठाएको थियो । 

गिरोहले उच्च राजनीतिक नेतृत्वलाई पनि प्रभावमा पारेको खुलेको छ । गिरोहका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको खाताको चेकबाट २०७६ जेठ १९ गते एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपका नाममा काटेको चेक सार्वजनिक भएको छ । १ करोड ५० लाखको उक्त चेक सार्वजनिक भएसँगै रायमाझी बाबुछोरा नै अनुसन्धानमा तानिएका छन् । 

यसरी रायमाझीको नाममा चेक काट्ने व्यक्ति इटहरीका अशोक पोखरेल हुन् । जो, इटहरीस्थित एपेक्स अस्पतालका सञ्चालक थिए । उनी अहिले उक्त अस्पताल धरानस्थित सुनसरी टेक्निकल कलेज सञ्चालकलाई बेचेर अमेरिका पुगेका छन् । 

सुरुवातमा राम्रै सञ्चालनमा रहेको एपेक्सले अस्पतालमा पछिल्लो समयमा बिरामीहरु उपचारको क्रममा मृत्यु हुने क्रम बढेको थियो । मेडिकल फिल्डको खासै ज्ञान नभएका अशोक अस्पतालमा लगातार उत्पन्न विवादबाट आजित भएका थिए । सोही समयमा अस्पताल बिक्रि गरेका थिए ।

सर्वसाधारणहरुसँग पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।