फिल्म फ्लप भएपछि अनमोलले माफी माग्दै भने– आज म शुन्यमा छु

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार ०२:३७ मा प्रकाशित

काठमाण्डौ । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म दर्शकको साथ पाउन सकेन ।

खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए । जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो ।

यहीबीचमा अभिनेता अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भए पनि त्यसमा चुकेको स्वीकारेका छन् ।

‘मलाई थाहा छ, मैले ‘२।० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । 

म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’