महोत्सवको व्यवस्थापन, आर्थिक दायित्व हाम्रो जिम्मेवारीभित्र पर्दैन : रामधुनी युवा क्लब

न्युजलय ११ साउन २०८०, बिहिबार ०७:४५ मा प्रकाशित

इटहरी । रामधुनी युवा क्लबले रामधुनी महोत्सवको व्यवस्थापकीय जिम्मेवारी आफ्नो नभएको जनाएको छ । महोत्सव व्यवस्थापनको जिम्मा गौतम बुद्ध एमुजमेन्ट प्रालिलाई जिम्मा दिएकोले आम्दानी, खर्चलगायत व्यवस्थापनसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारेको छ । 


रामधुनी महोत्सव आयोजकले तिर्नुपर्ने व्यवशायीहरुको रकम नतिरेको भन्ने व्यवशायीहरुको गुनासोका आधारमा न्युजलयले समाचार प्रकाशन गरेपछि महोत्सवको आयोजक क्लब रामधुनी युवा क्लबले यस्तो जनाएको हो । क्लबका पदाधिकारीहरु उद्घाटन र समापन कार्यक्रममा मात्र सहभागि भएको र मेलाको प्रचारप्रसारदेखि सबै व्यवस्थापकीय कामको जिम्मा गौतम बुद्ध एमुजमेन्ट प्रालिलाई दिइएकोले आफूहरु संलग्न नभएको क्लबले जनाएको छ ।


प्रालिका तर्फबाट प्रोप्राइटर प्रितेश साह, बिनोद कुमार चौधरी, अर्जुन सुब्बा लिम्बु र नगेन्द्र गुरुङ्ग लगायतले महोत्सवको जिम्मा लिएको क्लबले जनाएको छ । ‘महोत्सवमा कोही कसैले कुनै रकम लिन वा दिन पर्ने भएमा हाम्रो जिम्मेवारीको विषय पनि होइन,’ उक्त कम्पनिसँगको सम्झौताको प्रतिलिपीसहित क्लबले न्युजलयलाई उपलब्ध गराएको खण्डन पत्रमा भनिएको छ, ‘हामी प्रथम पक्ष भएर झुम्काको व्यापार व्यवसाय वृद्धि हुन्छ भन्ने पवित्र उद्देश्यका साथ आयोजक बसिदिएको मात्र हो । कुनै आर्थिक दायित्व हामीले बहन गर्ने होइन ।’


क्लबले कोही कसैलाई रकम तिर्नु बुझाउनु पर्ने दायित्व आफ्नो नभएको दोहोर्याउँदै गौतम बुद्ध एमुजमेन्ट प्रालिसम्बद्ध व्यक्तिहरुलाई सम्पर्क गर्न समेत क्लबले भनेको छ ।


महोत्सव आयोजकले समयमा पैसा नदिएको भन्दै केही व्यवशायीहरुले गुनासो गरेका थिए । सो विषयमा क्लबले आयोजक आफू भएपनि आम्दानी खर्चलगायत सबै व्यवस्थापनको जिम्मा कम्पनिले लिएको हुँदा कम्पनि जिम्मेवार हुने जनाएको छ । यस्तो छ, क्लबले उपलब्ध गराएको खण्डनपत्र र सम्झौतापत्रको प्रतिलिपी –