धरानको नवज्योति स्कुलकी शिक्षिकाको यातनाले विद्यार्थी गम्भीर घाइते

न्युजलय १८ पुस २०७८, आइतबार ०४:०१ मा प्रकाशित

विजयपुर । धरान–१५ स्थित नवज्योति स्कुलकी शिक्षिकाले यातना दिँदा आधारभूत कक्षाकी एक छात्रा गम्भीर घाइते बनेकी छन् ।

घाइते विद्यार्थीको विजयपुर अस्पतालमा उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । कक्षा ४ मा अध्ययनरत ११ वर्षीया विद्यार्थी मानसी चौधरीलाई गृहकार्य नगरेको भन्दै शिक्षिका सुरक्षा लिम्बूले शारीरिक यातना दिएकी थिइन् । 

शिक्षिकाले गृहकार्य नगरेको भन्दै १ सय ५० पटक उठबस गर्न लगाएको पीडित विद्यार्थीले बताइन् ।

मानसीका बुबा शम्भुराम चौधरीले स्कुलका शिक्षिकाले मरणासन्न हुने यातना दिएको कारणले छोरी गम्भीर घाइते भएको बताए ।

उनले शुक्रबार यातना दिएको विषयमा छलफल गर्दा तत्कालीन समयमा शिक्षिकाले उठबस गराएका स्वीकार्दै  माफी मागेको बताए ।

यातना दिइए पनि सामान्य होला भनी २ दिनसम्म घरमै आराम गराएको भए पनि दिनदिनै समस्या बढ्दैगएपछि उपचारमा लानुपर्ने अवस्था आएको शम्भुरामले बताए ।