पानीपीया–सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने प्रतिबद्धता

न्युजलय १३ बैशाख २०८०, बुधबार ०३:१४ मा प्रकाशित

इटहरी ।  इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। 

रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो । ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक थाल्न इटहरी उपमहानगरले पटक पटक भन्दा पनि कम्पनीले काम थालेको थिएन । 

सडक निर्माणको जिम्मा भएइको ठेकेदार कम्पनी, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबिच बुधवार भएको छलफलमा निर्माण कम्पनीले तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । 

निर्माण कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहानगरपालिकाले शुक्रवार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो । 

उपमहानगरपालिकाले सडक सुस्त ढङ्गले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो । 

निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट आउन ढिला भएकाले काम रोकिएको बताए । उनले धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए । 

कँडेलले असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य कामहरू सक्ने प्रतिबद्धता जनाए । विराटनगर–धरान सडक खण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ। सडक हिम धुङ् थोकर एन्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको हो । 

तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण भइरहेको छ ।